आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सर्लाहीका राजनीतिक दलहरूले सक्रियता बढाएका छन् ।ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । लो.स.पा,ज.स.पा,नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, लगायत दलले उम्मेदवार छनोट अन्तिम चरणमा पु¥याएका छन् ।वडा र टोल स्तरमा भेला, सम्मेलन र जनभेटघाट अभियान सकेका प्रमुख दलहरू उम्मेदवार छनोटको अन्तिम तयारीमा रहेको जनाएका छन् । तालमेलको विकल्प खुल्ला राख्दै उम्मेदवार छनोटमा जुटेका हुन् । मत सर्वेक्षण गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न स्वतन्त्र मतदातालाई आकर्षित गर्ने र अन्य पार्टीका मतदाता तान्ने रणनीतिमा दलहरूले जोड दिएका छन् । मतदाता भने नागरिकको नजिकको सरकारका रूपमा रहने स्थानीय तहमा सक्षम, योग्य र दूरदर्शी योजना बनाएर कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउँछन् । कैडेना गाउँपालिका–५ छपकहियाका ग्वालियर गोपले स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाइ गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिनुभयो । “जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उम्मेदवार बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “सबै दलहरूले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाए भने मतदातालाई विवेक प्रयोग गर्न सजिलो हुन्थ्यो ।” सक्रौल ६ का सुरज यादवले चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताउनुभयो । वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका यादव युवाको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, सुशासन र पारदर्शिताको मुद्दा अबको चुनावी एजेण्डा बन्नुपर्ने बताउनुभयो । राजनीतिक योगदान गरेका, स्वच्छ छवी, सामाजिक भावना र अनुभवी व्यक्तिलाई मतदाताले उम्मेदवारका रूपमा चाहेका छन् ।

