
निरज यादब/पालिका टूडे
सर्लाही : एक महिनासम्म विभिन्न सर्लाहीका स्थानीय तहमा सञ्चालन गरिएको शिविरबाट २५ हजार २५४ नयाँ मतदाता थपिएका छन्।१७ वटा स्थानीय तहमा दुई चरणमा गरी सञ्चालन गरिएको मतदाता नामावली संकलन शिविरबाट २५ हजार २५४ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको हो।पहिलो चरणमा मंसिर १७ देखि पुस २ गतेसम्म आठ स्थानीय तहमा सञ्चालन गरिएको पहिलो चरणको अभियानबाट १३ हजार ३२० जना र दोस्रो चरणमा पुस ४ देखि पुस १८ गतेसम्म नौवटा स्थानीय तहमा सञ्चालन गरिएको दोस्रो चरणको शिविरबाट ११ हजार ९३४ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए।पहिलो चरणमा बागमती, हरिपुर, लालबन्दी, हरिपूर्वा र ईश्वरपुर नगरपालिका तथा ब्रह्मपुरी, पर्सा र चन्द्रनगर गाउँपालिकामा र दोस्रो चरणमा गोडैता, कविलासी र बलरा नगरपालिका तथा रामनगर, बसबरिया, विष्णु, चक्रघट्टा,कौडेना र धनकौल गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।यी सबै स्थानीय तहको कार्यालय अर्थात् केन्द्रमा राखिएको शिविरमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरुको अत्यधिक घुइँचो हुँदाहुँदै निर्वाचन आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार स्थानीय तहको केन्द्रमा राखिएको शिविर उठाइसकिएको छ।धेरैले नाम दर्ता गर्न नपाएको गुनासो आएको छ। सदरमुकाम मलंगवा नगरपालिकाको हकमा जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयबाटै र हरिवन तथा बरहथवा नगरपालिकामा इलाका प्रशासन कार्यालयबाटै नियमित मतदाता नामावली संकलन भइरहेकाले ती स्थानीय तहको केन्द्रमा भने मतदाता नामावली संकलन शिविर राखिएन।स्थानीय तहहरुको शिविर सम्पन्न भए पनि सदरमुकाम मंलगवामा रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नियमित रुपमा मतदाता नामावली संकलनको काम भइरहेकाले छुटेकाहरुले त्यहाँ गएर नाम दर्ता गराउन सक्ने जिल्ला निर्वाचन अधिकृत भुजेलले बताए। उनका अनुसार यी चार कार्यालयबाट अहिले दैनिक ४०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता हुने गरेको छ।