कौडेना-सर्लाहीको दक्षिणी भेगस्थित कौडेना गाउँपालिका–१, सुखचनामा रहेको महादेव मठको अतिक्रमित जग्गा खाली गराउन गाउँपालिकाले आज डोजर परिचालन गरेको छ। वर्षौंदेखि अतिक्रमणमा परेको मठको जग्गामा निर्माण गरिएका पक्की तथा कच्ची घरहरूमा गाउँपालिकाले डोजर चलाएको हो।गाउँपालिका कार्यालयले मठको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानअन्तर्गत बुधवार दिउँसोदेखि डोजर लगाएर घरटहरा भत्काउने कार्य सुरु गरेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष रुपेश कुमारका अनुसार मठको जग्गामा जबर्जस्ती निर्माण गरिएका तीनवटा पक्की र दुईवटा कच्ची घर भत्काइएको छ।अध्यक्ष कुमारले अतिक्रमित जग्गा खाली गराउन गाउँपालिकाले यसअघि पटक–पटक सार्वजनिक सूचना जारी गरी सम्बन्धित पक्षलाई आग्रह गरे पनि बेवास्ता गरिएपछि बाध्य भएर डोजर परिचालन गर्नुपरेको बताए।उनका अनुसार धार्मिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको जिम्मेवारी भएकाले अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको हो।डोजर परिचालनका क्रममा सम्भावित विवाद तथा अप्रिय घटना हुन नदिन घटनास्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मीको उपस्थितिमा घरटहरा भत्काउने कार्य भइरहेको छ।महादेव मठको जग्गा लामो समयदेखि अतिक्रमणमा परेको विषय स्थानीयस्तरमा चर्चामा रहँदै आएको थियो। गाउँपालिकाले सार्वजनिक तथा धार्मिक सम्पत्तिको संरक्षणका लागि थालेको यस कदमलाई स्थानीयवासीले चासोका साथ हेरिरहेका छन्।अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गराई मठको सम्पत्ति संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले अभियान अघि बढाएको जनाएको छ।

