सर्लाही,गोडैता नगरपालिकाको १२औँ नगरसभा बुधबार सम्पन्न भएको छ। नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनस्थित सभाहलमा आयोजित नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७३ करोड रुपैयाँ बराबरको वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।नगर प्रमुख देवेन्द्र यादवले प्रस्तुत गरेको बजेटमाथि नगरसभा सदस्यहरूबीच छलफलपछि सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो। नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेट विकास निर्माण,शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी, पूर्वाधार विस्तार, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित ल्याइएको छ।नगर प्रमुख देवेन्द्र यादवको अध्यक्षतामा सम्पन्न बन्द सत्रको समापन समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियो। नगरपालिकामा सुशासन,पारदर्शिता,सेवाप्रवाह र जिम्मेवारीपूर्ण कार्यसम्पादनमा उल्लेखनीय योगदान पुर्याएका कर्मचारीहरूलाई कार्यपालिकाको मूल्याङ्कनका आधारमा सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख तथा कार्यक्रम सञ्चालक प्रमोद पण्डितले जानकारी दिए।सम्मानित हुनेमध्ये लेखा अधिकृत जयराम दास‘उत्कृष्ट कर्मचारी’ घोषित भए। त्यसैगरी जिन्सी शाखा प्रमुख राधेश्याम यादव,प्राविधिक शाखा प्रमुख रमेश प्रसाद यादव, शिक्षा शाखा प्रमुख प्रमोद कुमार यादव, योजना शाखा प्रमुख राजेश यादव, प्रशासन शाखाका ज्येष्ठ कर्मचारी भिखारी राउत, सूचना प्रविधि अधिकृत अरविन्द कुमार साह तथा कार्यालय सहायक घनश्याम बैठा सम्मानित भएका छन्।सम्मानित कर्मचारीहरूलाई नगर प्रमुख देवेन्द्र यादव, उपप्रमुख अञ्जना कुशवाहा तथा प्रमुख प्रशासकीय अधिकृत हेमबहादुर कार्कीले संयुक्त रूपमा माला र गम्छा ओढाई सम्मान गरेका थिए।समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले आफ्नो पहिलो र दोस्रो कार्यकालमा नगरसभालाई सर्वसम्मत रूपमा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण नगरसभा सदस्य,जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे। उनले विकास, सुशासन र जनमुखी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै पक्षबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे।कार्यक्रममा नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी,र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

