मलंगवा, सर्लाही । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मलंगवाको आयोजनामा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। आयोजित कार्यक्रममा समूह अध्यक्षहरू, संस्थाका सदस्यहरू तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त संस्थाले आयोजना गरेको कार्यक्रममा समूह नं. १९ की अध्यक्ष अर्चना देबीको अध्यक्षता र मलंगवा नगरपालिका की उप-मेयर शकुंतला देबीको प्रमुख आतिथ्यता रहेको थियो ।त्यसैगरी,संस्थाका केन्द्रीय कार्यालयका प्रतिनिधि तथा अनुगमन अधिकृत बालिष्टर यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा शाखा प्रबन्धक राधे कृष्ण यादव ले स्वागत मन्तव्य व्यक्त गर्दै शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।उहाँले शाखाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रम,सदस्यहरूको सहभागिता, बचत तथा कर्जा परिचालनको अवस्था र संस्थाले समुदायमा पुर्याइरहेको योगदानबारे जानकारी गराउनुभयो। साथै, वित्तीय अनुशासन र उत्पादनमूलक क्षेत्रमा लगानीको महत्वबारे पनि प्रकाश पार्नुभयो।कार्यक्रमका प्रमुख अतिथि उपमेयर शकुंतला देवीले वित्तीय साक्षरताले व्यक्तिको आर्थिक जीवनलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विशेषगरी महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न बचत, लगानी र आयआर्जनमूलक गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभयो। लघुवित्त संस्थाहरूले ग्रामीण तथा निम्न आय भएका परिवारहरूको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँको भनाइ थियो।कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरताका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो। नियमित बचतको महत्व,पारिवारिक आय–व्यय व्यवस्थापन, कर्जाको सही उपयोग,समयमै ऋण भुक्तानी गर्ने दायित्व, वित्तीय अनुशासन कायम राख्ने उपाय तथा समूह सुदृढीकरणका विषयमा विस्तृत जानकारी दिइएको थियो।सहभागीहरूलाई कर्जा उपभोगमुखी कार्यभन्दा उत्पादनमूलक तथा आयआर्जनमूलक क्षेत्रमा प्रयोग गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो। साथै,सानो रकमबाट पनि नियमित बचत गर्न सके भविष्यमा आर्थिक सुरक्षा सुनिश्चित गर्न सकिने जानकारी प्रदान गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै अनुगमन अधिकृत बालिष्टर यादवले वित्तीय साक्षरता आजको आवश्यकता भएको बताउनुभयो। उहाँले वित्तीय ज्ञानको अभावमा धेरै व्यक्ति तथा परिवार आर्थिक समस्यामा पर्ने गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सही आर्थिक निर्णय लिन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।सहभागीहरूले कार्यक्रम उपयोगी र ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका थिए।

