२०८२ माघ २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode

सर्लाही-प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सर्लाहीका दक्षिणी भेगमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । निर्वाचन आउन अब ३२ दिन मात्र बाँकी रहँदा राजनीतिक दल र नेताहरू गाउँ–गाउँमा पुगेर टोलभेला, कार्यकर्ता भेटघाट तथा प्रचारप्रसारमा जुटिरहेका छन् । तर, चुनावी माहोल ताते पनि कृषक समुदायमा भने चुनावप्रति खासै उत्साह देखिँदैन ।राजनीतिक दलका कार्यक्रमहरूमा मतदाताभन्दा बढी नेता र कार्यकर्ताकै उपस्थिति देखिन्छ । खेतबारीमा व्यस्त किसानहरूलाई राजनीतिक गतिविधिभन्दा आफ्नै कामको चटारो बढी छ । अहिले किसानहरू उखू काट्टने ,मकै छर्ने, गोडमेल गर्ने, तरकारी लगाउने तथा गहूमा सिँचाइका लागि पानीको जोहो गर्न व्यस्त छन् । यही व्यस्तताका कारण चुनावी प्रचारका लागि घरदैलोमा पुगेका नेताहरूसँग भेटघाट र भलाकुसारी गर्नसमेत उनीहरूलाई फुर्सद छैन ।कौडेना गाउँपालिका–५ छपकहियाका कृषक राजेश यादवका अनुसार किसानका समस्या वर्षौंदेखि जस्ताको तस्तै छन्न,यादवले भन्नुभयो, “हाम्रा समस्या कहिल्यै समाधान हुँदैनन् । सिँचाइको अभावले बाली सुक्छ, सिँचाइको व्यवस्था छैन ,समयमा मलखाद्य र बीउ समयमा पाउँदैनौं ,असिना, पानी, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति हुँदा पनि समयमा उचित क्षतिपूर्ति पाइँदैन । चुनाव आउँछ, नेता आउँछन्, ठूला–ठूला आश्वासन दिन्छन् र फेरि फर्केर आउदैनन् ।”तर किसानका लागि बिकास के हो त्यो महसुस हुन सकेको छैन ।त्यसैले चुनाव आए पनि हामीलाई कुनै रौनकले छुँदैन ।”सर्लाहीको दक्षिणी भेगमा ९० प्रतिशतभन्दा बढी मतदाता कृषि पेशामा आबद्ध छन् । यहाँका अधिकांश परिवारको मुख्य जीविकोपार्जनको स्रोत नै खेतीपाती हो । तर, किसानका समस्या समाधानमा राज्य गम्भीर नदेखिएको गुनासो उनीहरूमा व्यापक छ । यही कारणले किसानहरूमा चुनावप्रति वितृष्णा बढ्दै गएको रामनगर गाउँपालिका–४ का राकेश महतो बताउनुहुन्छ ।“किसानलाई चुनावप्रति चासो नहुनुको कारण कामको व्यस्तता मात्रै होइन,” महतोले भन्नुभयो, “विगतका चुनावमा नेताहरूले कृषि र कृषकका हितका लागि दिएको आश्वासन कार्यान्वयन गर्न नसक्नु पनि ठूलो कारण हो । हरेक चुनावमा उही कुरा दोहोरिन्छ, तर नतिजा शून्य हुन्छ ।”कृषकहरूका अनुसार अहिले उनीहरूका लागि चुनावभन्दा उखू काटने , मकै छर्ने, गोडमेल गर्ने,तरकारी लगाउने काम महत्वपूर्ण छ । खेतबारीमै भविष्य निर्भर भएकाले उनीहरूका लागि ‘काम नै ठूलो चुनाव’ भएको उनीहरूको भनाइ छ । “हामीले आज खेतमा काम गरेनौं भने भोलि खान के हुन्छ ?” एक कृषकले प्रश्न गर्नुभयो ।गोडैता का कृषक नबिन यादव पनि यस्तै धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “समय मिल्यो भने भोट हाल्न जानुपर्ला । तर नेताको भाषण सुन्ने, जुलुसमा हिँड्ने फुर्सद छैन । बिहानदेखि बेलुकासम्म खेतमै पसिना बगाउनुपर्छ ।”स्थानीय जानकारहरूका अनुसार सिँचाइ विस्तार, मलखाद्यको सहज उपलब्धता, उत्पादनको न्यूनतम समर्थन मूल्य, प्राकृतिक प्रकोपपछि छिटो राहत तथा क्षतिपूर्ति—यी किसानका प्राथमिक माग हुन् । तर, यी सबै योजना चुनावी घोषणा पत्रमै सीमित हुने गुनासो व्यापक छ । किसानका वास्तविक पीडा र आवश्यकता बुझेर ठोस समाधानको खाका सार्वजनिक गर्नुपर्ने आवश्यकता छ । नत्र भने चुनाव आउँछन् र जान्छन्, तर किसानका समस्या भने उस्तै रहिरहने स्थानीय जानकारहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय