सर्लाही-फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमादलहरु तीव्र गतिमा लागेका छन्। मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएसँगै अब दलहरुलाई प्रतिस्पर्धी र आफ्ना उम्मेदवारको पक्षमा मत जुटाउन लागेका छन्।निर्वाचन आउन ४० दिन बाँकी रहँदा गाउँदेखि बजारसम्म राजनीतिक माहोल तातिएको छ।चुनावी घोषणा पत्र, प्रतिबद्धता र संकल्प पत्रहरु लिएर दल तथा उम्मेदवारहरु सर्वसाधारणको घरदैलो गर्दैछन्। निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा नदिए पनि दलहरु भने आफ्नो चिन्हमा मतदान गर्न सिकाउँदै गाउँ पस्न थालेका छन्।आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दलहरुलाई यस अघिका निर्वाचनमा जस्तो सहज भने छैन। सूचना प्रविधिको विकास, चेतनाको विकास र सामाजिक सञ्जाल लगायतका क्षेत्रमा भएको विकासले उम्मेदवार र दलहरुलाई जवाफदेही बनाउनेछन्।पटक–पटक आश्वासनमा मतदान गरेका सर्वसाधारण यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उमेद्वारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन्। पटक-पटकका निर्वाचनमा गरेका प्रतिबद्धता र जिते वा हरेपछिका कामका विषयमा यो पटक सर्वसाधरण प्रश्न गर्ने मुडमा छन्।‘हामीले पटक–पटक जितायौँ, उनीहरुले पद पाए, आफ्नालाई जागिर खुवाए, हामीलाई निराशाबाहेक अरू के दिए?, यसपटक प्रतिबद्धता मात्रै होईन कामको योजनासहित आउने उम्मेदवारलाई मत दिने योजनामा छु’ गोड़ैता नगरपालिका वार्ड नम्बर ७ का सुरेश साह भन्छन् ‘आश्वासन पहिला पनि पाईएको हो, अहिले पनि उही पारा हो, अब पनि मतादाता सजक भएनौँ भने विकास हुनेछैन।सुरेश जस्तै सर्वसाधारणहरू पनी यस पटक मत माग्न पुग्ने उम्मेदवारसँग विगतका काम र भावी योजनाको फेहरिस्त माग्ने तयारीमा छन्। ‘काम गरेर खाने हामी सर्वसाधारणलाई झुटा आश्वासनले हुँदैन्, दुःख सुखमा साथ दिने जनप्रतिनिधि चाहिन्छ’ कौडेना गाउँपालिका वडा नम्बर २ का अनिल यादवले भने ‘आँफै पछुताउन नपर्ने गरी मतदान गर्न उम्मेदवारसँग प्रश्न गर्छौं र विश्वासीलो आधार दिनेलाई मतदान गर्ने सोँच छ।कौडेना वडा नम्बर ५ का राजेश यादवले बोलेका काम गर्ने, जनता नठग्ने र स्रोत साधनले पुगेसम्मको विकास गर्न सक्ने उम्मेदवारलाई जिताउनु पर्ने बताए। उनले जनता खुसी हुने वातावरण सिर्जना गरुन भन्ने धारणा सर्वसाधारणमा विकास भएको बताए।सडकमा मात्रै ध्यान पुर्याउने जनप्रतिनिधिले शिक्षा स्वास्थ्य, खानेपानी, सिंचाइ र कृषि पूर्वाधारका क्षेत्रमा समेत योजना ल्याउन आवश्यक रहेको यादवको भनाइ छ।‘बहुदल आएपछि हामीलाई नेताहरुले पटक पटक ठग्दै आएका छन्, अब पनि कति ठगिनु, कति झुटा कुरामा अल्झिनु, दलका दासी जस्तो भइयो’ उनले भने ‘यस पटकको मत नठग्ने उम्मेम्दवाररको लागि हुनेछ, ठग्दिन भन्ने वातावरण जुन उम्मेदवारले बनाउँछ उसलाइनै जिताउनुपर्छ।’ पुरा हुनै नसक्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख नगर्न समेत उनले आग्रह गरे।‘थोरै काम गर्छु भनुन् तर काम गरुन्’उनले भने ‘सपना ठूला–ठूला बाँड्ने काम स–साना पनि गर्न नसक्ने नहोस, जनताको साथ सहयोग चाहिन्छ भनेका हामी सहयोग गर्न तयार छौँ तर अनवाश्यक रुपमा जनतालाई ठग्ने, झुक्याउने खालका योजना लिएर आउनेलाई यसपाली भोट दिँदैनौँ।जनप्रतिनिधि हुनेले निर्वाचित भएपछि आफु र आफ्नाहरुको मात्रै सेवामा लाग्दिन भनेर प्रतिबद्धता पत्रमा उल्ले गर्नुपर्ने सर्वसाधारणको माग छ।दलहरुले सक्रिय कार्यकर्ता भएको घर र गाउँमा टीका लगाएर पार्टीको सदस्य हो भन्ने र मत गनेर हारजितको आँकलन गर्ने प्रवृत्ति यसपटक अनुत्पादक हुने देखिन्छ। नयाँ पुस्तामा आएको सचेतना र विकासप्रतिको जुझारु र विकासप्रेमी उम्मेदवार यस पटकको निर्वाचनमा विजयी हुने छन्। नागरिकको चेतना स्तरमा वृद्धि हुँदै गएको हुँदा यस पटकको चुनावमा प्रस्ट योजना र विकास गर्न सक्ने उम्मेदवारले विजयी हाँसिल गर्न सक्ने देखिन्छ।

