२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

पसिना बगाएर फलाएको नगदे बाली उखु समयमै बिक्री नहुँदा सर्लाहीका किसानहरू यतिबेला निकै ठूलो आर्थिक र मानसिक सङ्कटमा परेका छन्। एकातिर खेतमा काटेको उखु समयमै ढुवानी नहुँदा सुक्न थालेको छ भने अर्कोतिर खेत खाली नभएका कारण हिउँदे बाली रोप्न नपाउँदा किसानहरू दोहोरो मारमा परेका हुन्।सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिल समयमै सञ्चालनमा नआउनु र विगतका वर्षहरूमा सर्लाहीको उखु खरिद गर्दै आएको महोत्तरी (रामनगर) स्थित एभरेष्ट सुगर मिलले यस वर्ष यहाँका उखु खरिद नगरेपछि किसानहरू समस्यामा परेका हुन्। यी दुई ठूला विकल्पहरू बन्द भएपछि बरहथवा नगरपालिका-१५ हरपुर्वाका किसान राजकुमार महतोसहित सर्लाहीका हजारौँ किसानको उखु अहिले खेतमै अलपत्र परेको छ।पछिल्लो समय उखु ढुवानीमा देखिएको समस्या निकै भयावह छ। अघिल्ला वर्षहरूमा एकै दिनमा चार टायर ( बैलगाडी) सम्म उखु ढुवानी गर्ने किसानहरू अहिले एउटै टायरका लागि चार दिनसम्म लाइन बस्न बाध्य छन्। समयमै तौल नहुँदाउखुको रस सुक्दै गएको र यसले तौलमा समेत भारी गिरावट आउँदा किसानको लगानी नै डुब्ने अवस्था सिर्जना भएको छ। जिल्लामा विकल्पको रूपमा रहेको हरिवनस्थित इन्दुशंकर चिनी मिलले पनि वास्तविक किसानको पीडा नबुझेको गुनासो चुलिएको छ। मिल प्रशासनले साधारण किसानलाई पाखा लगाएर ठेकेदार र पहुँचवाला व्यक्तिहरूलाई मात्र प्राथमिकतामा राखी ‘मिलगेट चलान पुर्जी’ वितरण गरिरहेको पीडित किसानहरूको आरोप छ।पहुँच नहुने किसानहरूले हप्तौँ कुर्दा पनि पुर्जी नपाउने तर बिचौलिया र ठेकेदारहरूले सहजै सुबिधा पाउने गरेको भन्दै किसानहरूले आक्रोश व्यक्त गरेका छन्। समयमै ‘खुट्टी’ उखु (दोस्रो वर्षको बाली) काटेर ढुवानी गर्न नपाउँदा किसानहरूले आफ्नो खेत खाली गर्न सकेका छैनन्। गहुँ रोप्ने मुख्य सिजन घर्कदै जाँदा पनि उखु खेतमै रहेकाले यस वर्ष गहुँ उत्पादनमा समेत ठूलो ह्रास आउने निश्चित देखिएको छ।मेहनत गरी फलाएको उखु खेतमै सुक्न थालेपछि निराश बनेका किसानहरूले स्थानीय प्रशासन र सरकारसँग तत्काल हस्तक्षेप गर्न माग गरेका छन्। मिलहरूलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न, चलान पुर्जी वितरणमा हुने विभेद अन्त्य गर्न र किसानको उखु सहज रूपमा खरिद गर्ने वातावरण मिलाउन उनीहरूले जोडदार माग गरेका छन्।समयमै समस्या समाधान नभए उखु खेतीबाटै पलायन हुनुपर्ने स्थिति आउने भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय