सर्लाही, कात्तिक – २० गते । सर्लाहीको काबिलासी नगरपालिका–६ मदनपुर बजार नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार साँझ करिब सवा ६ बजे सल्लेमपुरबाट बरहथवा तर्फ जाँदै गरेको आलु–प्याज लोड गरेको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए । उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा साँझ करिब ७ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका–७ का १९ वर्षीय राजु ठाकुर लोहारको निधार, दाहिने कुहिनो र तिघ्रामा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ट्र्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई प्रहरी टोलीले उद्धार गरी तत्काल अस्पताल पु¥याएको थियो।

