सर्लाही, कौडेना – सर्लाहीको कौडेना गाउँपालिकाले शनिबार राति आएको बाढीबाट प्रभावित परिवारहरूलाई राहत वितरण सुरु गरेको छ। शनिबार राति लखनदेही नदीमा आएको आकस्मिक बाढीका कारण गाउँपालिकाका वडा नम्बर ५ र ७ का करिब ३ सय घरधुरी डुवानमा परेका थिए। नदीमा आएको बाढीले घर, गोठ, अन्नपात, र दैनिक प्रयोगका सामानहरू नष्ट गरेको छ। धेरै परिवारहरू सुरक्षित स्थानमा विस्थापित भएका छन् भने खेतबारीमा लगाइएका बालीहरू पूर्ण रूपमा नष्ट भएका छन्। बाढीपछि गाउँपालिकाले तत्काल राहत वितरणको पहल गर्दै आइतबारदेखि प्रभावित परिवारहरूलाई सहयोग पु-याउन सुरु गरेको हो। गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) को पहलमा प्रत्येक परिवारलाई प्रारम्भिक राहतका रूपमा ५ केजी चुरा, ४ वटा बिस्कुट,४ वटा चाउचाउ , १ बोतल पिउने पानी र २५० ग्राम दालबुट वितरण गरिएको छ। अध्यक्ष यादवले भने, “हामीले तत्काल राहत वितरण सुरु गरेका छौँ, कसैलाई पनि बिचमा नछोडी सबै प्रभावित परिवारसम्म पुग्नेछौँ।”यसैबीच गाउँपालिकाले बाढी प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गर्न र उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष टोली गठन गरेको छ। सो टोलीले बाढीले क्षति पुर्याएका क्षेत्रहरूको स्थलगत अनुगमन गर्दै थप आवश्यक सहयोगका सामग्रीहरू पहिचान गर्ने काम गरिरहेको छ।अध्यक्ष रूपेश कुमारका अनुसार, तत्काल राहत वितरणपछि प्रभावित परिवारहरूको पुनर्स्थापना र दीर्घकालीन समाधानका लागि पालिकाले योजना तयार पार्दैछ। उनले स्थानीय बासिन्दालाई धैर्य राख्न आग्रह गर्दै सम्भव सबै स्रोत परिचालन गरी सहयोग पुर्याइने बताए। स्थानीय बासिन्दाहरूले पालिकाको तत्परता र सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनीहरूले बाढीको जोखिम कम गर्न भविष्यमा नदी किनारमा तटबन्ध मर्मत र सुदृढीकरणका कामलाई समेत प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

