कार्तिक १७ गते ।। मंसिर ४ गते हुने चुनावलाई लिएर आजदेखि दलहरुले प्रचार प्रसार गर्न पाउने भएपनि सर्लाहीको कौडेनामा भने दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा रोक लगाइएको छ । तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको कारण कौडेना वडा नम्बर ३ का वडाअध्यक्ष पचु चौधरीको नेतृत्वमा स्थानीयले नेताहरुलाई आवतजावतमा रोक लगाएको स्थानीय अजय यादव ले जानकारी दिए । नेताहरुलाई आवतजावतमा रोक लगाउने कार्यको नेतृत्व गरेका वडा अध्यक्ष चौधरीले हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिवद्धता गर्न र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको बताए । उनले समयमै बनाउन नसकिएपनि सडकमा नियमित पानी छिटेर धुलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरीकको स्वास्थ्यमा नकरात्मक असर परिरहेको बताए । उनले सडक नबन्दा तराईका हजारौं बासिन्दाले यात्रामा कठिनाई भोग्नु परीरहेको बताए । उनले प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको बताए ।

