सर्लाही, कौडेना — KOICA/UNFPA तथा Good Neighbour International (GNI) को आर्थिक तथा प्राविधिक सहयोगमा RDC नेपालद्वारा सञ्चालित SAFE Girls परियोजना अन्तर्गत बुधबार कौडेना गाउँपालिका–३ स्थित श्री जनता माध्यमिक विद्यालयमा “Menstrual Hygiene Day” भव्य रूपमा मनाइएको छ। किशोरी तथा युवतीहरूको स्वास्थ्य, सरसफाइ, आत्मविश्वास तथा सुरक्षित जीवनशैली सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रम कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद दासको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख, GFP प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, जनसमुदायका प्रतिनिधि, अभिभावक तथा किशोरीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दासले महिनावारीलाई प्राकृतिक प्रक्रिया तथा महिलाको जैविक विशेषता भएको उल्लेख गर्दै यसलाई लाज, डर वा विभेदको विषय बनाउनु नहुने बताए। उनले समाजमा अझै पनि महिनावारीलाई लिएर विभिन्न अन्धविश्वास, विभेद र गलत धारणाहरू रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।उनले किशोरीहरूलाई आफ्नो स्वास्थ्यप्रति सजग रहन,सरसफाइमा ध्यान दिन तथा आत्मविश्वासका साथ जीवन अगाडि बढाउन आग्रह गरे। साथै, स्थानीय तहले किशोरी तथा युवतीहरूको स्वास्थ्य, शिक्षा र सुरक्षासँग सम्बन्धित कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जानकारी दिए।SAFE Girls परियोजनामार्फत किशोरी तथा युवतीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, लैंगिक समानता तथा सुरक्षित वातावरण निर्माणका लागि विभिन्न सचेतनामूलक तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन्। परियोजनाले विद्यालय तथा समुदायस्तरमा किशोरीहरूलाई आत्मनिर्भर, सचेत र सक्षम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सहभागीहरूले बताएका थिए।कार्यक्रममा महिनावारी स्वच्छता सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। प्रशिक्षकहरूले महिनावारी महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया भएकाले यसलाई कुनै पनि हालतमा विभेद, अपमान वा अशुद्धताको दृष्टिकोणले हेर्न नहुने बताए।छलफलका क्रममा विगतमा महिनावारीप्रति समाजमा रहेको सोच र अहिलेको अवस्थामा आएको सकारात्मक परिवर्तनका विषयमा समेत चर्चा गरिएको थियो। पहिले महिनावारी भएका महिलालाई विभिन्न सामाजिक तथा धार्मिक गतिविधिबाट टाढा राख्ने, घरभित्र छुन नदिने, विद्यालय जान रोक लगाउने जस्ता व्यवहार हुने गरेको उल्लेख गर्दै अहिले विस्तारै समाजमा चेतना बढ्दै गएको बताइएको थियो।कार्यक्रममा किशोरीहरूलाई महिनावारीका बेला अपनाउनुपर्ने सावधानीका बारेमा समेत जानकारी गराइएको थियो। समयमै पौष्टिक खाना खाने, प्रशस्त पानी पिउने, शरीर सफा राख्ने, नियमित नुहाउने, सफा कपडा वा सेनेटरी प्याड प्रयोग गर्ने तथा प्रयोग गरिएको प्याड वा कपडालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।त्यसैगरी, महिनावारीका बेला हुने पेट दुख्ने, कमजोरी महसुस हुने,चिडचिडापन आउने लगायतका सामान्य समस्याबारे जानकारी गराउनुका साथै आवश्यकता अनुसार स्वास्थ्यकर्मीको परामर्श लिनुपर्ने सुझाव दिइएको थियो।कार्यक्रममा सहभागी किशोरीहरूले महिनावारीका विषयमा खुलेर छलफल गर्न पाउँदा आफूहरूमा आत्मविश्वास बढेको बताए।उनीहरूले विद्यालय तथा समुदायमा अझै पनि कतिपय ठाउँमा महिनावारीलाई लुकाएर राख्नुपर्ने अवस्था रहेको भन्दै यस्ता कार्यक्रमले गलत धारणा हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।शिक्षक तथा अभिभावकहरूले पनि किशोरीहरूको स्वास्थ्य र सरसफाइप्रति विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। विद्यालयस्तरमै महिनावारी स्वच्छता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न सके किशोरीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ थियो।कार्यक्रममा उपस्थित GFP प्रतिनिधिले लैंगिक समानता तथा किशोरीहरूको अधिकार सुनिश्चित गर्न समुदायस्तरमा निरन्तर सचेतना फैलाउन आवश्यक रहेको बताए। उनले महिलाको स्वास्थ्य र सम्मानसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले महिनावारीलाई सामान्य र सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।विद्यालयका प्रधानाध्यापकले विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि सुरक्षित तथा सहज वातावरण निर्माण गर्न विद्यालय प्रतिबद्ध रहेको बताए। उनले विद्यालयमा सरसफाइ, स्वच्छ शौचालय तथा आवश्यक स्वास्थ्यसम्बन्धी सामग्री उपलब्ध गराउन प्रयास भइरहेको जानकारी दिए।कार्यक्रमका क्रममा किशोरीहरूबीच अन्तरक्रिया तथा प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन गरिएको थियो। सहभागीहरूले महिनावारीसँग सम्बन्धित आफ्ना जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले ती प्रश्नहरूको सहज र वैज्ञानिक उत्तर दिएका थिए।SAFE Girls परियोजनाले विशेषगरी किशोरी तथा युवतीहरूको आत्मविश्वास वृद्धि, नेतृत्व विकास तथा हिंसा न्यूनीकरणमा केन्द्रित रहेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। परियोजनाले विद्यालय तथा समुदायमा किशोरी मैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण सहयोग पुर्याइरहेको जनाइएको छ।कार्यक्रमका सहभागीहरूले महिनावारीलाई प्राकृतिक प्रक्रिया मानेर सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले महिलामाथि हुने विभेद अन्त्य गर्न परिवार, विद्यालय र समुदाय सबैको संयुक्त भूमिका आवश्यक रहेको बताएका थिए।महिनावारी स्वच्छता दिवसको अवसरमा किशोरी तथा युवतीहरूलाई स्वास्थ्य, सरसफाइ तथा आत्मसम्मानका विषयमा सचेत बनाउनुका साथै समाजमा रहेको विभेदपूर्ण सोच अन्त्य गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

