सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा चालू आर्थिक वर्षमा हालसम्म भएका गतिविधि तथा विकास कार्यसम्बन्धी प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ।अधिवेशनमार्फत चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल बजेटमध्ये हालसम्म पुँजीगत र चालू तर्फ भएको खर्च विवरण प्रस्तुत गरिएको हो।शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रको विकाससँगै नीति निर्माण, योजना संशोधन र कार्यान्वयनमा नगरपालिका केन्द्रित रहेको हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले जानकारी दिनुभयो। मेयर गोपाल पजियारले शिक्षा र स्वास्थ्य क्षेत्रका साथै भौतिक पूर्वाधार निर्माणका कार्यहरूले निरन्तरता पाएको उल्लेख गर्दै निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता क्रमशः मूर्त रूप लिँदै गएको बताउनुभयो।उहाँले हरिपुर नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउने लक्ष्यमा सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा वडा नं. १ देखि ९ सम्मका जनप्रतिनिधि, पालिकाका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रशासन प्रमुख नागेश्वर रायले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

