कौडेना-सर्लाहीको कौडेना गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ।कौडेना गाउँपालिका स्वास्थ्य शाखाको आयोजना ,गा•पा प्रमुख रूपेश कुमार (बब्लु )को अध्यक्षता तथा मधेस प्रदेश तथ्यांक अधिकृत लाल बाबु राय को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो।बिहिबार र शुक्रबार दुइदिन सम्म चलेको उक्त गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ७वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आआफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा ७ वटा वडा स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट भएर छानिएका तीनवटा स्वास्थ्य संस्था का प्रमुखलाई दोसला ओढाएर सम्मानित गरिएको थियो । आन्तरिक मुल्यांकनको आधारमा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका सक्रौल,कौडेना,मोतीपुर स्वास्थ्य चौकीका प्रमुखहरुलाई,गा•पा का प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद यादवले दोसला ओढाएर सम्मान गरेका थिए।समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै गा•पा प्रमुख रूपेश कुमार (बब्लु ) ले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापुर्वक जिम्मेवारी पुरा गर्ने गा•पा भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरु लाई धन्यवाद दिएका थिए । गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाउँपालिका लाई मधेस प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट नमुना स्वास्थ्य गाउँपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । गाउँपालिकाका अध्यक्ष रूपेश कुमार (बब्लु)को अध्यक्षता तथा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाका तथ्यांक अधिकृत लालबाबु रायको प्रमुख अतिथ्यतामा सम्पन्न समीक्षा गोष्ठी कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका विभिन्न वडाका वडाध्यक्षहरु ,पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन स्वास्थ्य स- संयोजक सुरेश यादवले गरेका थिए।

