सर्लाहीको चक्रघट्टा गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ३० लाख ८ हजार ३ सय ३ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। विपद्को घडीमा गाउँपालिकाको कोषसँगै जनप्रतिनिधि,कर्मचारी र शिक्षकहरूले समेत आफ्नो पारिश्रमिक कटाएर सामूहिक रूपमा उक्त रकम सङ्कलन गर्ने निर्णय गरेका छन्।गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार विपद् व्यवस्थापन कोषबाट ७ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यसैगरी,जनप्रतिनिधिहरूको तर्फबाट ६ लाख ६० हजार,गाउँपालिकाका सम्पूर्ण कर्मचारीबाट १०लाख २३ हजार ४ सय ६५ रुपैयाँ र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट ६ लाख २४ हजार ८ सय ३८ रुपैयाँ सङ्कलन गरी राहत कोषमा पठाइनेछ।यस अभियानका लागि गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूले आफ्नो एक महिना बराबरको सेवा सुविधा बाढीपीडितलाई प्रदान गर्ने निर्णय गरेका छन्।त्यस्तै कार्यपालिका को निर्णयअनुसार अधिकृतस्तरका कर्मचारीको ८ दिन,सहायकस्तरका कर्मचारीको ६ दिन र श्रेणीविहीन कर्मचारीको ३ दिनको तलब सहयोग गरिनेछ।यसैगरी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले पनि बाढी पीडितका लागि सहयोग गर्ने भएका छन्। माध्यमिक तहका शिक्षकको ८ दिन,आधारभूत तहका शिक्षकको ६ दिन तथा सहयोगी कर्मचारीको ३ दिनको तलब राहत कोषमा जम्मा गर्ने विज्ञप्तिमा उल्लेख छ।चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ,गोरखा र चितवनलगायतका क्षेत्रमा पुर्याएको जनधनको
क्षतिप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन्।विज्ञप्तिमा राहत, उद्धार र पुनर्स्थापनाका लागि सबै पक्षको हातेमालो आवश्यक रहेको औंल्याउँदै, गाउँपालिकाको यस आर्थिक सहयोगले विपद्मा परेका परिवारको पुनर्स्थापना अभियानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

