हरिपूर्वा,०७ फागुन –सर्लाहीको हरिपूर्वा नगरपालिकाका को ११औं नगर सभा साेमबार मध्यान्ह सम्पन्न भएकाे छ । नगरप्रमुख विनोदकुमार साह तेलीले बहुमत नगर सदस्यहरुकाे सहभागितामा नगरसभा सम्पन्न भएकाे दाबी गरे । सरुवा गरिसकिएका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले रमाना नलिइसकेकाले उनकै उपस्थितिमा नगर सभा सम्पन्न गरिएकाे मेयर साहले बताए ।कार्यालय भवनमै सभा चलिरहँदा बाहिर भने सभा हुनुपर्छ र हुनुहुँदैन भन्ने पक्षधरहरुकाे भिड लागेकाे थियाे । अहिलेपनि कार्यालय भवनकाे दक्षीणपट्टी नगरसभा विराेधी पक्षधरहरु लाठी सहित तथा उत्तरपट्टी सडकमा नगरसभा सफल पाराैं लगायत प्लेकार्ड बाेकेका सयाैं सर्वसाधारणकाे उपस्थिती रहेकाे छ । बाक्लाे संख्यामा उपस्थित सुरक्षाकर्मीहरुले बीचमा बसेर दुवै पक्षलाई सम्झाईबुझाई गरिरहेका छन् । गएको साउनदेखि तलब नपाएपछि कर्मचारीहरु अघिल्लो हप्ताको आइतबारदेखि कार्यालय बन्द गरेर र शिक्षकहरु हिजो आइतबारबाट नगरभित्रका १६ वटै सामुदायिक विद्यालय बन्द गरेर धर्नामा बसेपछि नगरप्रमुख साहसहितका जनप्रतिनिधिलाई नगर सभा गरेर बजेट पारित गर्नुपर्ने दबाब परेको थियाे ।नगर सभा चलिरहेकाे अवस्थामा ४ जना वडाध्यक्षहरुले सभा स्थलमै विराेध प्रदर्शन गर्दै कुर्सी टेबुल ताेडफाेड गरेकाे तथा केही जनप्रतिनिधि माथि कुटपिट समेत गरेकाे मेयर साहले दाबी गरे । संघीय खानेपानी मन्त्री महिन्द्र राय यादव पक्षका जनप्रतिनिधिकाे अवराेधका कारण समयमै नगरसभा हुन नसकेकाे मेयर साहकाे दावी छ । नगरसभा विराेधी संघर्ष समितिले आईतबार बेलुका विरोधस्वरुप राँके जुलुस निकालेकाे थियाे । एक पक्षले नगरसभा गर्ने र अर्को पक्षले विरोध जनाउने भएपछि साेमबार बिहानैदेखि हरिपूर्वामा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राजनीतिक खिचातानीका कारण तलब, भत्ता रोकिनुका साथै विकास निर्माणका काम ठप्प हुँदा हरिपूर्वाका स्थानीय निराश बनिरहेका छन् । मेयर साहले आफूलाई बद्नाम बनाउने र नगरपालिकालाई बन्धक बनाइराख्न यसै क्षेत्रका सांसद तथा खानेपानी मन्त्री महिन्द्र राय यादवले ‘रोल’ खेलिरहेको आरोप लगाउँदै आएका छन् ।

