सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ । गहुँ उत्पादनको पकेट क्षेत्र मानिने गोडैता नगरपालिकामा यसको उत्पादनलाई वृद्धि गर्ने उद्देश्यसहित अनुदानमा गहुँको बीउ वितरण गरिएको हो । परम्परागत जातका गहुँको बीउलाई विस्थापित गर्दै किसानलाई ३६०० बोरा (१४४० क्विन्टल) विजय, आदित्य,गौतम,बान गंगा,NL-971,BL-4143,लगायत जातका गहुँको बीउ अनुदानमा उपलब्ध गराइएको छ । “कृषि उत्पादनका लागि बीउ गुणस्तरीय हुनुपर्छ, बाहिरबाट बीउ खरीद गर्दा कमजोर पनि पर्न सक्छ ” नगरपालिका प्रमुख देबेन्द्र यादवले भने, “सहुलियतमा उन्नत जातको गहुँको बीउ वितरण गर्दा धेरै कृषक उत्साहित भएका छन् ।” किसानलाई गहुँको खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले यो वर्ष नगरपालिकाका १२ वटै वडाका कृषकहरूलाइ गहुँको बीउ वितरण गरिएको हो ।अनुदानमा गहुँको बीउ प्राप्त गरेपछि कृषक खुशी भएका छन् । बजारमा गहुँको बीउ खरीद गर्दा महँगो पर्ने तथा बीउ गुणस्तरीय नहुने नगरपालिका–३ का कृषक सुरज यादवले बताए । “नगरपालिकाले अनुदानमा बीउ दिएपछि हामीलाई सजिलो भयो, खुशी लागेको छ,” यादवले भने, “यो वर्ष गहुँ उत्पादन बढ्न सक्छ ।”

